दफा ५४
सहकारी बैंङ्कको कार्य
: सहकारी बैङ्कले यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधीनमा रही आफ्ना सदस्य संस्था वा सङ्घका बीच देहाय बमोजिमका कार्य गर्न सक्नेछ :–
(क)    संस्था वा सङ्घलाई कृषि, उद्योग, सेवा, व्यापार, उर्जा, पर्यटन लगायतका कार्यका लागि स्थिर तथा चालु पूँजीको रूपमा तोकिए बमोजिमको अनुपातमा कर्जा प्रदान गर्न,
(ख)  सदस्यबाट बचत स्वीकार गर्ने तथा त्यस्तो बचत भुक्तानी दिन,
(ग)  सहकारी क्षेत्रको विकास र प्रवर्द्धनको लागि सदस्य केन्द्रित भई सङ्घ, संस्था वा नेपाल सरकार वा प्रदेश सरकारका निकायसँग वा स्थानीय तहसँग सम्झौता गरी संयुक्त लगानी गर्न,
(घ)  सदस्य संस्था वा सङ्घहरूको तर्फबाट जमानतपत्र जारी गर्न, त्यस्तो जमानतपत्र बापत सुरक्षण वा चल अचल सम्पत्ति धितो बन्धक लिन वा तेस्रो पक्षको सहमतिमा जेथा जमानत लिन,
(ङ)  आवश्यकता अनुसार संस्थागत कर्जा लिन,
(च)  कर्जा, ऋणपत्र आदिको व्याज असुल गर्न,
(छ)  आफूले प्रदान गरेको कर्जाको सदुपयोग भए नभएको सम्बन्धमा निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्न,
(ज)  नेपाल सरकारले जारी गरेका ऋणपत्र वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ट्रेजरी बिल खरिद बिक्री गर्न,
(झ)  संस्था वा सङ्घ र सोसँग आवद्ध सदस्य बीच सूचना आदान प्रदान गर्न,
(ञ)  विद्युतीय उपकरण वा साधनको माध्यमबाट बचत लिन, भुक्तानी दिन, रकमान्तर गर्न,
(ट)  आवश्यकता अनुसार ऋण वा पुन ऋण लिन वा दिन,
(ठ)  परियोजना प्रबर्द्धनका लागि सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त सङ्गठन, दातृ निकाय, बैङ्क लगायतबाट प्राप्त भएको रकम विकास, वित्त वा कर्जाको रूपमा प्रवाह गर्न वा त्यस्तो स्रोतको व्यवस्थापन गर्न,
(ड)  परियोजना स्थापना, सञ्चालन र मूल्याङ्कन सम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण गर्न गराउन,
(ढ)  नेपाल राष्ट्र बैङ्कको इजाजतपत्र लिई अन्य बैङ्किङ्ग कारोबार गर्न ।